फिल्म । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘पिताम्बर’ ले सुरुआती व्यापार राम्रो गरेको छ । कृषा चौलागाईंको निर्देशनमा तयार भएको फिल्मले शुक्रबार र शनिवार दर्शकको साथ् पाएको हो । निर्माण टिमले हलमा दर्शक चाँप सुखद रहेको प्रतिक्रिया दिएका छन् । दुई दिन उपत्यकाका हल भ्रमण गरेर दर्शक प्रतिक्रिया लिएपछि निर्देशक चौलागाईंले मेहनतको फल पाएको बताइन ।
‘हामीले जे सोचेर फिल्म निर्माणको सुरुआत गरेका थियौँ, त्यहि अनुसार दर्शकसम्म ल्याउन सफल भयौँ । दर्शकले स्तरीय फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन्, शुक्रबार उत्साहजनक दर्शक पाएको फिल्मले शनिबार बिहानैबाट हलहरूमा दर्शकको साथ पाएको छ’, निर्देशक चौलागाईंले भनिन् ।
उनीसहित फिल्म युनिट कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, लबिम मल, बिएसआर गंगबु, सिटी स्क्वायर, क्युएफएक्स भक्तपुर, के एल टावरलगायत हलमा दर्शक प्रतिक्रिया लिन पुगेका थिए । अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी, प्रमोद अग्रहरीसँग दर्शकले खुसियाली साटेका थिएँ ।
फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, दिव्य देव पन्त, अनुप विक्रम शाही, प्रदीप खड्का, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, आर्यन सिग्देल, दिव्या रायमाझी, सुरक्षा पन्त, कामेश्वर चौरासिया, गौरव विष्ट लगायतका कलाकारको अभिनय रहेको छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गरेको छ ।