फिल्म । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्ध भएकी छन् । मंगलबार निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले दीपाश्रीसँग लामो समयदेखि मौखिक छलफल भए पनि मंगलबार कागजी सम्झौता सम्पन्न भएको बताइन् ।
‘हामीबीच सल्लाह-सुझाव हुँदै आएको थियो, मौखिक रूपमा सहमति भइसकेको थियो’, निताले भनिन्,‘मेरो प्रोजेक्टमा दिदीको साथ पाउनु मेरो लागि ठूलो कुरा हो ।’
निताले दीपाश्रीलाई नायिकाको भूमिकामा अनुबन्ध गरिएको जानकारी दिइन् । दीपाश्रीले अनुबन्धपछि १२ वर्षअघिको सहकार्य सम्झिइन् । ‘वि.सं. २०७० मा ‘छ एकान छ’मा निताले हामीलाई सहयोग गरेकी थिइन् । १२ वर्षपछि खोलो फर्किएजस्तै मलाई ‘पार्वती’को मुख्य भूमिकामा अनुबन्ध गरिएको छ । साउन महिना, शिव-पार्वतीको जोडीको महिना, र यस्तो फिल्ममा अवसर पाउँदा खुशी छु। नितालाई धन्यवाद ।’
निताले पनि १२ वर्षअघि दीपाश्रीले आफूलाई सम्झिएको र अहिले आफ्नो निर्देशनमा दीपाश्रीलाई अनुबन्ध गर्न पाएकोमा खुशी व्यक्त गरिन् । ‘छक्का पञ्जा’ टिमकी सफल निर्देशक तथा अभिनेत्री दीपाश्रीका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन्, जसले ‘पार्वती’ प्रति थप अपेक्षा बढाएको छ । यसअघि, चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भइसकेका छन् । नीता आफैं पनि फिल्मको मुख्य भूमिकामा अभिनय गर्नेछिन् ।
निर्माण टिमले आगामी माघ १ लाई प्रदर्शन मिति तोकेको छ । फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले तयार पारेका छन् । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । सावित्रा अधिकारी, नरहारी अधिकारी र पवन ढुंगानाले फिल्ममा लगानी गरेका छन् ।











