नेपाल आइन् ‘कबड्डी’ शृंखलाकी मैया

फिल्म । नेपालको बक्सअफिसमा रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी’ शृंखलाकी चर्चित पात्र मैया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा ‘रिमै’को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमान्सँगै अमेरिकामा बस्दै आएकी रिश्माले कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताईन् ।

‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु । मैले बिचमा क्रसरोड नामक सिनेमामा काम गरेकी थिए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुने सिनेमालाई बिर बहादुर घलेले मिर्नण गर्दैछन् । सिनेमाको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । सिनेमामा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।

कमेन्ट गर्नुहोस्