सङ्गीत । काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले ‘पागलपन’ र ‘माया’ बोल रहेको एक/ एक गीत सार्वजनिक गरेका छन् । आयोजित पत्रकारसम्मेलनमा गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि सङगीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिए । उनीसँगै ‘पागलपन’ मा गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् । उक्त गीतको भिडियोमा रचनाकार पदम लोहारसँगै अभिनेत्री शिल्पा मास्केले अभिनय गरेकी छिन् ।
अर्को गीत ‘माया’ मा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएकी छिन् । गायक आचार्यले दुई साता अभ्यास गरेर गीतमा स्वर भरेको स्मरण गरे । ‘आजभोली गीत गाउने गायकलाई दोस्रो हरफ गाउँदा पहिलो हरफ याद हुदैन । मलाई यो प्रक्रियाले रेडियो नेपालको दिनलाई स्मरण गरायो । यस गीतको शब्द भाइरल हुने प्रकृतिको नभई मिठास बोकेका छन्’, गायक आचार्यले भने । गीतमा अभिनेत्री पूजा शर्मासँगै गीतकार लोहार देखिएका छन् । दुवै गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
चलचित्रको गीत झैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक गहतराजले बताए । कार्यक्रममा गीत र त्यसको श्रव्यदृश्यको चर्चा भइरहदा दुवै अभिनेत्री भने उपस्थित थिएनन् । कार्यक्रममा सङगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।









