थारु भाषाको गीत मार्फत प्रमोशन गर्दै ‘म यस्तो गीत गाउँछु २’

फिल्म । फागुन १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ को थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ । चितवनमा खिचिएको गीतको भिडियोमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाइएको छ ।

भिडियोमा सिनेमाका अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा थारु पहिरनमा देखिएका छन् । निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रमोशनल गीत बनाउने योजना भएपनि समय अभावका कारण थारु र नेवारी भाषामा मात्र तयार पारेको जानकारी दिए । पल र पूजाले भने पहिलो पटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोसनल गीत तयार पारेको छ ।

उक्त नेवारी गीत बिहिबार सार्वजनिक गरिनेछ । फिल्ममा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मलाई सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्