फिल्म । गत वर्ष चीनको वुहानबाट निस्किएको भनिएको कोरोना भाइरस अहिले विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गरेपछि झनै यसको त्रास बढ्दो छ । यसको असर मनोरंजन क्षेत्रमा पनि उत्तिकै परेको छ । यसै सन्दर्भमा नेपाल चलचित्र संघले कोरोना भाइरस (कोभिड–१९) ले नेपाली सिनेमा घर तथा फिल्म क्षेत्रमा पारेको असरबारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग भेट गरी छलफल गरेको छ । संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मन्त्री खतिवडालाई कोरोना भाइरसले पारेको प्रभावका बारेमा ज्ञापनपत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।
भेटमा मन्त्री डा. खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी गराउँदै नेपाली फिल्म उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको र सबै क्षेत्रको जानकारी एकत्रित गरिरहेको तथा प्रभावबारे छलफल गरिरहेको स्पष्ट पारेको बुझिएको छ । आगामी १ महिना कठिनाइ हुने देखिएको र त्यसैको लागि केन्द्रीय बैंकसँग बसेर छलफल चलाइरहेका भेटमा मन्त्री डा. खतिवडाले बताएको सहभागी एक सदस्यले बताए । उनले चलचित्र संघका पदाधिकारीलाई ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको तथा नेपाली फिल्म उद्योगका लागि मध्यमकालीन र दीर्घकालीन रणनीतिमा पनि काम गरिरहेको समेत बताएका थिए ।
त्यसअघि संघका अध्यक्ष मधुसूदन प्रधानले सिनेमा हलमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाइ गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराए । उनले कोरोना भाइरसको प्रभावले हाल सिनेमा हलमा दर्शकको संख्या न्यून भए पनि दैनिकरूपमा विभिन्न किसिमका राजस्व तथा कर तिरिरहनुपरेको गुनासो गरे । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ को असर सबैभन्दा धेरै पर्यटन, होटल र रेस्टुरेन्ट क्षेत्रमा परेको भन्दै त्यसपछि प्रत्यक्षरूपमा सिनेमा हलमा असर देखिएको अर्थमन्त्रीलाई जानकारी गराए। नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली फिल्म क्षेत्रमा ठूलो लगानी रहेको जानकारी गराउँदै देशभका २ सयभन्दा बढी हलमा असर परेको बताए। संघका अध्यक्ष प्रधानको नेतृत्वमा गएको टोलीमा संघका महासचिव अशोक शर्मा, उपमहासचिव गोपालकाजी कायस्थ, सदस्यहरू भाष्कर ढुंगाना, अभिनेता दीपकराज गिरी तथा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा कार्यसमिति सदस्य अञ्जन श्रेष्ठ सहभागी थिए ।












