सङ्गीत । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपालमा साङ्गीतिक कार्यक्रम गर्ने भएका छन् । नेपाली टच नेपालको आयोजनामा हुने आज साँझ बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ मा सहभागी हुन् सोनु बुधवार नेपाल आउदैछन् ।
आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङगीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याईएको बताए । कन्सर्टका लागि अहिले ई-सेवाबाट टिकट विक्री भइरहेको छ । तर, आम दर्शकमा यो कन्सर्टका लागि चासो ह्वात्तै बढ्दा ई-सेवाको सर्भर नै डाउन भएको छ ।
एकैपटक ई-सेवाको सर्भरबाट टिकट काट्ने दर्शकको संख्या उच्च भएपछि सर्भर डाउन भएको हो । हालसम्म ७ हजार भन्दा बढीले टिकट काटिसकेको बताइएको छ । साँझ ६ बजदेखि सुरू हुने साङ्गीतिक कार्यक्रममा दश हजार दर्शकको उपस्थिति हुने विश्वास आयोजकको छ । कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ । गायक निगमले स्वर दिएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत नेपालीमाझ लोकप्रिय छन् ।