प्रसाद २ : खुल्यो बुकिङ्ग

फिल्म। आउँदो शुक्रबार वैशाख १५ गतेबाट ‘प्रसाद २’ प्रदर्शन हुँदैछ। सोमबार साँझ काठमाडौंमा प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको फिल्मको बुकिङ्ग खुलेको छ। ‘प्रसाद’ को व्यापार र फिल्ममा भएका कलाकार, प्रिमियरमा प्राप्त प्रतिक्रियाको आधारमा ‘प्रसाद २’ ले राम्रो सो पाएको छ। न्यूज तयार पार्दासम्म क्युएफएक्समा २० सो, एफक्युबमा ४ सो, बिएसआरमा ४ सो, विग मुभिजमा ४ सो पाएको छ। अन्य हलमा सो खुल्ने र खोलिएकोमा बढ्ने क्रम जारी नै छ।

फिल्ममा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन् । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिएता पनि त्यहाँ विभेद कायम नै छ ।मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ ।

देशमा संविधान नै नयाँ लेखिएर हुने भनिएको परिवर्तन व्यवहारमा छैन। पात्रले कानूनमा लेखिएको परिवर्तन महसुश गरेका छैनन्। त्यसैले त बाबुरामलाई लाग्छ,’परिवर्तन लेखियो तर कतै देखिएन्’। अभिनेता विपिनले परिवर्तनलाई फिल्मको माध्यमले बुझाउने प्रयत्न गरिएको बताए। ‘प्रसादको इस्यू साँझा हो । यसले समाजको तीतो यथार्थलाई समेटेको’,अभिनेता कार्कीले भने।

विविध अप्ठ्यारोलाई छल्दै फिल्म प्रदर्शन हुन् लागेको हो। फिल्मको सङ्घर्ष बाबुराम र नारायणी भन्दा फरक नदेखिएको वितरक गोपालकाजी कायस्थले बताए। ‘फिल्म प्रदर्शन हुँदैछ। सिक्वेल भएकाले यसको पात्र र परिवेशसँग दर्शक जानकार हुनुहुन्छ। म प्रदर्शन र वितरक भएकाले आशावादी छु’, वितरक कायस्थले भने।

‘धन्दा’पछि यो अर्को सामाजिक कथावस्तुमा कथालाई निर्देशन गरेका निर्देशक सुदर्शन थापाले निर्देशनमा कुनै कसर बाँकी नरहेको बताए। रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका थापाले ,’नारायणी, बाबुराम र प्रसादले जीवन अघि बढाउन गर्ने संघर्ष नै यसको कथा हो। उनीहरू संघर्षको सुरूवात गाउँबाट नै गरिरहेका छन्। देशमा नयाँ संविधान आयो । नियम कानुन बने तर व्यवहारमा पात्रले परिवर्तन महसुश गरेका छैनन् । परिवारिक, सामाजिक र राजनीतिक लेयरमा आधारित संघर्ष यसमा छ।’

अभिनेत्री केकी अधिकारीले नारायणी सहनशील र कम बोल्ने पात्र देखिए पनि अन्य भन्दा विद्रोही स्वभावको रहेको बताइन। अघिल्लो फिल्ममा दर्शकले नम्रता श्रेष्ठलाई नारायणीको भूमिकामा देखेका थिए तर यसमा केकी चरित्रमा छिन् । फरक के त ? उनी भन्छिन्, ‘नारायणीको भित्री स्वभाव उस्तै छ । अनुहार मात्र फरक भएको हो।’ उनले ग्रामिण भेगमा परिवार र समाजसँग विद्रोह गरेर अन्तरजातीय प्रेमलाई गन्तव्यमा लैजाने नारायणी अन्य पात्र भन्दा बढी विद्रोही भएको बताइन।

अघिल्लो भागको विपिन कार्की बाहेक केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी नयाँ अनुहार हुन्।फिल्ममा सुदर्शन बस्नेत निर्माता रहेकाछन् भने सुभाष थापा प्रस्तुतकर्ता हुन्। सुशील पौडेलको लेखन रहेको फिल्मलाई गोपालकाजी कायस्थले वितरण गर्दैछन्।

कमेन्ट गर्नुहोस्