प्रियंकाले गाइन ‘कसलाई पोखुँ’ (भिडियो)

फिल्म । अभिनेत्री प्रियंका कार्की नायिकासँगै गायिका पनि हुन् । उनले गायनमा आफ्नै अभिनय रहेको फिल्म ‘आवरण’ मार्फत डेब्यु गरेकी थिइन् । उनले यसको टाइटल ट्रयाकमा आफ्नो स्वर दिएकी थिइन् । त्यसपछी उनले केहि कभर गीत पनि ल्याइन । तर गायनलाई भने निरन्तरता दिनसकेकी थिइनन् । त्यस्तो उनले एल्बमनै सार्वजनिक गर्ने भन्दै स्वतन्त्र बोलको गीत पनि ल्याएकी थिइन् तर उनि अभिनयमै व्यस्त भईन । गायिकाको रुपमा प्रियंकालाई दर्शकले भुल्नै लाग्दा उनको स्वर रहेको फिल्म ‘अनागत’ को गीत सार्वजानिक भएको छ ।

उनकै अभिनय रहेको फिल्मको ‘कसलाई पोखुँ…’ बोलको गीतमा उनले स्वर दिएकी छिन । गीतमा प्रियंकासँगै सुरजसिंह ठकुरीले साथ दिएका छन् । गायक सुरज र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरजकै संगीत सुन्न सकिन्छ । फिल्मका लिड कलाकारद्वय प्रियंका कार्की र अर्पण थापा गीतमा प्रस्तुत छन् । गीतमा श्रीमान्-श्रीमतीबीच घर व्यवहारमा उब्जिने मानसिक द्वन्द्वलाई देखाइएको छ ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म सस्पेन्स थ्रिलर जानरामा बनेको हो । फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्