‘हरिबहादुरको जुत्ता’ले अमेरिकामा कमायो ६८ लाख

फिल्म । नेपालमा असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शन सुरु भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ यतिबेला अमेरिकामा पनि रिलिज भइरहेको छ । नेपालमा ३ करोड ९० लाखभन्दा बढी कमाइ गरिसकेको यो सोसल–कमेडी ड्रामाले अमेरिकामा पहिलो सातामै ४८ हजार अमेरिकी डलर (लगभग ६८ लाख नेरु) कमाइ गरेको स्थानीय वितरकले जानकारी दिएका छन् ।

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको टेक्सासको ड्यालस र ओहायो राज्यमा फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ । हरिवंश आचार्य स्टारर यो फिल्मलाई अमेरिकामा आहान पौडेलले वितरण गरेका हुन् । नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा आहानका लागि यो पहिलो वितरण हो । पहिलो सातामा अमेरिकाका ८० पर्दाबाट रिलिज भएको फिल्म अहिले पेन्सिलभेनिया, न्यूयोर्कको क्विन्स, एलए, ह्युस्टन, ओहायोको पिकरिंगटन, भर्जिनियाको एस्बर्न, टेनेसीको नाशभिल, म्यासाचुसेट्सको क्याम्ब्रिज, कनेक्टिकटको हार्टफर्ड, न्यू ह्याम्पसायरको हुकसेट, जर्जियाको जोन क्रिक र बुफर्ड तथा मेरिल्याण्डको गेथर्सबर्गस्थित हलहरूमा प्रदर्शन भइरहेको छ ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रियंका कार्की, प्रकाश सपुत, हरिहर शर्मा, किरण केसी, दिव्य देवलगायतका कलाकारको मुख्य अभिनय छ । निर्देशक दीपेन्द्रकुमार खनालको यो फिल्म दसैँमा दर्शकको रोजाईमा परेको छ ।

कमेन्ट गर्नुहोस्