एक मतको हार

फिल्म । नेपाल चलचित्र निर्देशक समाजको तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न चुनावी साधारणसभाले रक्षा सिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । चार जना प्रत्यासी रहँदा अध्यक्ष पदमा रक्षाले १ मतले बाजी मारिन् । निकतटम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष समेत रहेकी सुचित्रा श्रेष्ठले ४४ मत ल्याउँदा रक्षाले ४५ मत ल्याइन् । त्यस्तै लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ मत प्राप्त गरे । एक मतान्तरले विजयको उमंग रक्षाले पक्कै बुझेकी छिन् भने एक मतको हार निवर्तमान अध्यक्ष सुचित्राले ।

शनिवार साधारण सभासँगै आयोजित कार्यसमितिको निर्वाचनमा रक्षाले एक मतले आफ्नो नेतृत्व लिन सफल भइन । एक मतले सुचित्राले मात्र हार बेहोरेकी होइनन् , निर्देशक तथा रङ्ग पत्रकार विजय रत्न तुलाधरले पनि एक मतले हार बेहोर्नु पर्यो । उपाध्यक्ष पदमा राजु अधिकारीले ५८ र राजेन्द्र उप्रेतीले ६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बिजयरन्तले ५७ मत ल्याउँदा १ मतले पछि परे । आरविके खत्री ‘शरद’ले २१ मतमा चित्त बुझाए ।

चुनावमा सहभागी हुन् पुगेका विजयले छोटो समयमा नै ५७ मत ल्याउनु आफैमा तारिफ योग्य छ । उनले चुनावले हार र जीतकै रिजल्ट दिने भएकाले यो एउटा प्रक्रिया मात्र रहेको बताएका छन् । यद्दपी एक मतले मात्र हार बेहोर्दै हर्दा निर्वाचनमा १७ मत बदर भएको छ । फिल्मका टिम क्याप्टेन भनिने निर्देशकले पनि १७ मत बदर गरेका छन् । कुल संख्या २ सय १७ रहदा निर्वाचनमा १ सय १५ मत खसेको थियो । त्यसमा पनि १ मत भने फेला परेन । त्यसैले कुल १ सय ३४ मत मात्र गणना भयो ।

निर्वाचनमा चर्चित निर्देशकहरु भने देखा परेनन् । दीपाश्री निरौला , रामबाबु गुरुङ , प्रदीप भट्टराई , निश्चल बस्नेत लगायत भने चुनावमा सहभागी भएनन् । यसमा पनि निश्चल बस्नेत , प्रचण्ड मान श्रेष्ठ , भुवन केसी लगायतले सदस्यता नवीकरण नै गरेनन् । निर्देशकहरुको छाता संगठनमा आम दर्शकले चिन्ने निर्देशक नै देखिएनन् ।

निर्वाचनमा सहभागी निर्देशकको लिस्ट हेर्ने हो भने नयाँ पुस्ताको रुपमा मीन बहादुर भाम , दीपेन्द्र के खनाल , दीपेन्द्र लामा सहभागी थिए । सहमति हुन् नसकेपछि निर्देशक समाजमा निर्वाचन भएको थियो । निर्वाचित पदाधिकारीको कुरा गर्ने हो भने ,महासविच तर्फ जनकद्वीप पराजुली ६१ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी समिर बलामीले ४० मत ल्याउँदा दिनेश लिङ्देनले ११ मत ल्याए ।

सचिव पदमा अरुणकुमार प्रधान ५९ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी जनक खड्काले ३६ र विश्वमणी घिमिरेले १७ मत ल्याएका छन् । कोषाध्यक्षतर्फ समुन्द्र भट्ट निर्विरोध निर्वाचित भएकी छिन् भने सह- कोषाध्यक्षमा हरी शिलवाल निर्विरोध हुँदा बाँकी ६ सदस्य पनि निर्विरोध चयन भएका छन् ।

सदस्यतर्फ तीन बर्षे कार्यकालको लागी किशोर भण्डारी, दीपक वली, भिषण राई, राज बस्न्याल, नविन अर्याल र देवेन्द्र पाण्डे आउँदा मुख्य सहायक निर्देशक तर्फको दुई सदस्यमा सुरेश न्यौपाने र थमनसिंह पुर्जा चयन भएका छन् । चलचित्र विकास वोर्डको हलमा सम्पन्न निर्वाचनमा १ सय ३५ मत झरेको थियो जसमा १ सय ३४ मत मात्र गणना भएको थियो । १ मत भने बाकसमा प्राप्त भएन । १७ मत बदय भएको थियो ।

कमेन्ट गर्नुहोस्