हरिवंशको नजरमा यसकारण सफल भयो ‘महाजात्रा’

फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ सफलताका साथ चौथो सातामा प्रदर्शनरत छ । फिल्मले पाइरहेको दर्शकको साथका कारण हलमा देखिएको अकुपेन्सीले यसले ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ । यसपटक फिल्ममा अभिनेता हरिवंश आचार्य भित्रिएका छन् । उनले नेताको भूमिका निर्वाह गरेका छन् ।

पछिल्लो अभिनेता आचार्यले एक टेलिभिजन कार्यक्रममा फिल्म सफल हुनुको विषयमा चर्चा गरेका छन् । उनले निर्माण समूह, कन्सेप्ट र त्यसलाई स्क्रिप्टमा ल्याउन गरिएको मेहनतले अहिले सफलता दिएको बताए ।

‘उहाँहरूले केही कथा लेखेर फ्याक्नु भएको छ । स्क्रिप्ट लेखनमा झन्डै एक वर्ष उहाँले मेहनत गर्नुभयो । त्यो मेहनत पर्दामा देखियो’, अभिनेता आचार्यले भने,‘जात्रा शृंखलाले बनाएको दर्शक बढाउने गरी फिल्म तयार भयो । फलत नयाँ दर्शक थपिनु भयो । यसले मनोरंजन मात्र नभई संदेश पनि दिएको छ । यसकारण परिवार नै दर्शक बनेर हलसम्म आइरहनु भएको छ ।’

उनले आफ्नो टोल र छरछिमेकमा पनि फिल्मलाई लिएर चर्चा हुने गरेको बताए । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालसँगै विदेशमा पनि शत प्रतिशत अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले छिटै सम्पूर्ण देशको शो सङ्ख्या र व्यापारको विषयमा जानकारी गराउने बताए । फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

कमेन्ट गर्नुहोस्