फिल्म । कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यसहित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०८३’ आयोजना हुने भएको छ । बिहीबार सुर्खेतस्थित होटल नमस्तेमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना तथा पहिलो चरणका कार्यक्रमहरूबारे औपचारिक जानकारी गराइएको हो। कर्णालीलाई फिल्म पर्यटनको केन्द्र बनाउने बृहत् लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवले राज्यको न्यून उपस्थिति रहेको क्षेत्रमा फिल्ममार्फत सामाजिक, आर्थिक र शैक्षिक रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ।
‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा र ‘जनजनमा नेपाली फिल्म, मनमनमा नेपाली फिल्म’ भन्ने अभियानका साथ सुरु हुन लागेको महोत्सवको औपचारिक उद्घाटन आगामी वैशाख ११ गते (२४ अप्रिल २०२६) वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ। सोही दिन ‘फिल्म पर्यटन संवाद’ पनि आयोजना गरिनेछ। उक्त उद्घाटन तथा संवाद कार्यक्रममा फिल्म विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, संघीय, प्रादेशिक तथा स्थानीय तहका प्रतिनिधिहरूका साथै ख्यातिप्राप्त निर्माता, निर्देशक र कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
यसैगरी, महोत्सवको दोस्रो दिन वैशाख १२ गते सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा विशेष ‘कुपिण्डे फिल्म पर्यटन समारोह’ आयोजना गरिनेछ ।
महोत्सवले कर्णालीका लुकेका कथा, जीवनशैली, भाषा र भेषभूषालाई फिल्ममार्फत विश्वसामु पुर्याउने लक्ष्य राखेको छ। पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि फिल्म र पर्यटन गतिविधि न्यून रहेको अवस्थामा यो महोत्सव कोसेढुङ्गा सावित हुने बताए। उनले संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी कर्णालीलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’का रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको स्पष्ट पारे।
यस वर्ष महोत्सवको विशेष आकर्षणका रूपमा ‘फिल्म कथा प्रतियोगिता’ आयोजना गरिएको छ। कर्णालीका ओझेलमा परेका कथाहरू उजागर गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको उत्कृष्ट कथालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार प्रतियोगिताको नतिजा छिट्टै सार्वजनिक गरिनेछ।
फिल्म र पर्यटनलाई जोडेर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा आयआर्जन बढाउने लक्ष्य लिएको महोत्सवले जलवायु परिवर्तनका प्रभावबारे पनि फिल्ममार्फत जनचेतना फैलाउने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा महोत्सवले कर्णालीको पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि र सूचना प्रविधिको विकासमा समेत महत्त्वपूर्ण योगदान दिने अपेक्षा व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा महोत्सवका सल्लाहकार डा. महेन्द्रकुमार मल्लले यो कर्णालीकै गौरवको आयोजना भएकाले यसलाई सफल बनाउन सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा आम नागरिकलाई सहयोगका लागि अपिल गरेका छन्।











