फिल्म । मिलन चाम्सको निर्देशन तथा निर्माणमा तयार भएको ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ । सार्वजनिक ट्रेलरलाई हलिउडको फिल्म बराबरको भनिएको छ । संवत नेपालमा पहिलोपटक युद्ध विधामा फिल्म बनेको छ । यसमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाइएको छ ।
ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक चाम्सले तारिफसँगै नयाँ कलाकार नै किन ? भन्ने प्रश्नको सामना गरे । किनकि स्टारभ्यालुले फिल्मको ब्राण्ड भ्यालु बढाउन सक्ने चर्चा भयो । निर्देशक चाम्सले नयाँ अनुहार रितेश चाम्सनै किन लिड रोलमा छन् भन्ने प्रश्नको जवाफ फिल्मले दिने बताए । ‘मलाई मेहनत गर्ने र पर्दामा सैनिक देखिने कलाकार चाहिएको थियो । रितेश पुर्व सैनिक भएको र अभिनय सम्बन्धी शिक्षा लिएकोले अडिसनमार्फत छानिएका हुन् । मैले अरू कलाकारलाई लिन सक्थे । तर, उनीहरूमा उक्त भूमिकालाई निर्वाह गर्ने जोश नै छैन’, निर्देशक चाम्सले भने ।
उनले अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा बनाएको गोर्खाको विषयलाई यत्तिकै फिल्ममा देखाउन नमिल्ने भएकाले सम्पूर्ण पक्षलाई उत्तिकै ध्यान दिइएको बताए । उनले फिल्मलाई निर्माण गर्न नै तीन वर्ष लगाएका छन् । यसको तयारीमा झन्डै उनले एक दशकको समय लगाए । निर्देशक चाम्स आफै पुर्व गोर्खाली सैनिक भएकाले उनले विना सम्झौता फिल्म तयार गरेका हुन् ।
पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ मा प्रदर्शन हुँदैछ । उनले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।
सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतका कारणले यो फिल्मले पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको थियो ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।