फिल्म । प्रदर्शनको समयमा विदेशी फिल्मलाई बढी शो दिएपछि पत्रकार सम्मेलन गर्दै असन्तुष्टी व्यक्त गरेको ‘प्रकाश’ टिम अहिले भने खुशी छ । फिल्मको शो बढेका छन् । साथै चलिरहेको फिल्ममा मध्ये यसको अकुपेन्सी पनि उच्च छ । प्रदर्शनमा रहेको अन्य फिल्मको तुलनामा ‘प्रकाश’ मा दर्शक बढी भएपछि यसको शो पनि बढेको छ ।
फिल्मको व्यापारमा ‘अफ डे’ मानिने आइतबार र सोमबार अन्य फिल्मको तुलनामा यसमा दर्शक बढी पाइए । मंगलबार परेको हरितालिका तिजलाई समेत ध्यानमा राखेर मल्टीप्लेक्सहरुले शो थपेको बुझिएको छ। रेगुलर फिल्म भन्दा फरक देखिएका अभिनेता प्रदीप खड्काको ‘प्रकाश’ अवतारलाई दर्शकले रुचाएका छन् । उनका फ्यान सामाजिक सञ्जालमा समेत फिल्मको प्रचारमा जुटेका छन् ।
माउथ पब्लिसिटीमा भएपछि फिल्म ‘प्रकाश’का लागि क्यूएफएक्स च्यानलले दुई शो थप गर्दै २८ शो उपलब्ध गराएको छ भने बिग मुभिजले पनि दुई शो थप गर्दै चार शो उपलब्ध गराएको छ। यस्तै बिश्वज्योति सिनेप्लेक्सले पाँच शो, वान सिनेमाले आठ शो उपलब्ध गराएको छ। यस्तै बिएसआर, एफक्यूव, आइएनआई सिनेमा लगायतका मल्टीप्लेक्सहरुले पनि चलचित्रको शो थप गरेका छन्। माउथ पब्लिसिटी बलियो हुँदा हलमा दर्शकहरूको संख्या दिनदिनै बढिरहेको निर्माण टिमले जनाएको छ। दर्शकको डिमान्ड बढेकै कारण हलहरूले शो थप गरेको निर्माण टिमको भनाई छ।
दिनेश राउतको निर्देशनमा तयार फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ ।
समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।










