फिल्म । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ। नाबालिका गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो। यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दर्ताको प्रयास भएको थियो। कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो।
अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा ‘पोखरा र चितवनको होटेलमा लगेर बारम्बार बलात्कार गरेको उल्लेख छ। एकै कार्यक्रममा सहभागी हुन एकै गाडीमा बस्दा यौन दुर्व्यवहार गरेको, रक्सी खाएर सुतेको कोठामा आएर करणी गरेको, कामको म्युजिक भिडियोको सुटिङमा जाँदा होटेलमा जवर्जस्ती करणी गरेको लगायतका दाबी जाहेरीमा उल्लेख छ।
‘निज प्रतिवादीले यस भन्दा पहिले पनि पोखरास्थित होटेल प्राइममा र चितवनस्थित गैँडाकोट रिसोर्टमा पटक पटक जवर्जस्ती करणी गरेका हुँदा यसरी मेरी नावालीका छोरीलाई माया प्रेम गरेको, विभिन्न गीतहरूको सुटिङ हुँदाको बखत छोरीको हेरविचार गरेको बहाना गरी माया प्रेमको झुटा नाटक गरी जवर्जस्ती करणी गर्ने पूर्ण विक्रम शाह भन्ने पल शाहलाई कारबाही गरिपाऊँ’ जाहेरीमा भनिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन सर्कुलर गरिएको हो। सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. २ रामपुर स्थायी वतन बताई हाल काठमाडौँ म.न.पा. नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह ( पल शाह) उल्लेख छ। सर्कुलरमा ‘गहुँगोरो वर्ण भएको, कपाल लामो पालेको, उचाइ अं. ५.७” भएको मध्यम शरीर’ उल्लेख गर्दै निजलाई जहाँ भेट्यो त्यही पक्राउ गरी तनहुँ पठाउन आग्रह गरिएको छ।











