‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ । निर्माण टिमले गीत सार्वजनिकलाई फरक शैलीमा प्रस्तुत गरेको थियो। फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला-बेहुलीको भेषमा कार्यक्रमस्थलमा उपस्थित भएका थिए। पञ्चेबाजाको धुनसँगै केही अतिथिहरू जन्तीको रूपमा सहभागी भएका थिए, जसले वातावरणलाई वास्तविक विवाहजस्तै बनाएको थियो।

गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने संगीत पनि थानेश्वर गौतमकै रहेको छ। गीतका शब्द डा. भोला रिजालले लेखेका हुन् । गीतको भिडियोमा पनि मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्कालगायत कलाकारहरूले अभिनय गरेका छन्। गीतले जन्मघर छोडेर पराइ घर जाँदाको पीडा, वियोग र भावनात्मक संघर्षलाई प्रस्तुत गरेको छ।

कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘गौँथली’ नाममा यसअघि करिब दुई दशकअघि डा. भोला रिजालले फिल्म निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो गीति फिल्म मानिन्छ। सोही नामलाई निरन्तरता दिँदै अहिले डा. कपिल रिजालले नयाँ संस्करण निर्देशन गरेका हुन्।

कमेन्ट गर्नुहोस्