निर्माता र प्रदर्शकले ५०/५० प्रतिशत बराबर शेयर पाउने

फिल्म । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएवापत निर्माता तथा प्रदर्शकले बराबरी ५०/५० प्रतिशत शेयर पाउने भएका छन् । तिहारको अवसर पारेर गत कात्तिक २४ गतेदेखि प्रदर्शन गरिएको नेपाली चलचित्र ‘दिमाग खराब’को निर्माण समुहले विदेशी चलचित्र सरह सो सङ्ख्या र प्रदर्शन अन्तर्गत भएको कुल व्यापारको ५० प्रतिशत शेयर नपाए प्रदर्शन रोक्ने घोषणा गरेपछि यस विषयमा बहस सुरू भएको थियो ।

निर्माताहरूको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ र प्रदर्शक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घ बीच आज भएको वार्ता सफल भएको छ । विहिबार साँझ निर्माता र प्रदर्शकलाई बराबर शेयर दिनेसहित छ बुँदामा सहमति भएको निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए । ‘आजको सहमतिले निर्मातालाई उर्जा दिएको छ । यो दुवै पक्षको जित हो’, अध्यक्ष खड्काले भने ।

चलचित्र ‘दिमाग खराब’ले देखाएको साहसको कदर गर्दै निर्माता सङघका सदस्य रवीन्द्रसिंह बानियाँले सम्पूर्ण नेपाली चलचित्रलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे । यसअगाडि चलचित्र प्रदर्शनको पहिलो र दोस्रो साता चलचित्र भवन र निर्माताले बराबर रुपमा ५०÷५० प्रतिशत शेयर पाएता पनि तेस्रो सातादेखि निर्माताले ३५ प्रतिशत शेयर मात्र पाउने गरेका थिए ।

\
कमेन्ट गर्नुहोस्