अहानको २८औं जन्मदिनमा अनितको भावुक सन्देश

फिल्म । यसवर्षको चर्चित रोमान्टिक फिल्म ‘सैयारा’ बाट स्टार बनेका अभिनेता अहान पाण्डेले मंगलबार आफ्नो २८औं जन्मदिन मनाउँदैछन् । यस अवसरमा विश्वभरका प्रशंसकहरूले उनलाई शुभकामना दिइरहेका छन् । तर, अहानका लागि सबैभन्दा विशेष र भावनात्मक शुभकामना उनकी को-स्टार तथा निकै नजिककी साथी अनित पड्डाले दिएकी छन् ।

अनितले इन्स्टाग्राममार्फत अहानको व्यक्तित्व, करुणा र जीवन यात्राको बारेमा एउटा मर्मस्पर्शी नोट लेख्दै यसअघि सार्वजनिक नभएका केही तस्वीर र भिडियोहरू साझा गरेकी छन् । उनले मध्यरातमा पोस्ट गर्दै अहानको व्यक्तिगत जीवनका दुर्लभ र घनिष्ठ क्षणहरूलाई प्रशंसकसामु प्रस्तुत गरेकी हुन् ।

फिल्म ‘सैयारा’ को सफलता र नयाँ स्टार यसै वर्ष रिलिज भएको फिल्म ‘सैयारा’ व्यावसायिक रूपमा सफल हुनुका साथै यसले बलिउडलाई नयाँ पुस्ताका (जेनजी) स्टारहरू प्रदान गरेको छ । आईएमडीबीको सूचीमा समेत अहान र अनित वर्षकै लोकप्रिय कलाकारको रूपमा पर्न सफल भए ।

अनितको भावनात्मक नोट क्याप्सनमा अनितले लेखेकी छिन्, ‘मैले देखेकी छु कि जब तिमी जोडले हाँस्छौ, तब बाटोमा हिँड्ने मानिसहरू पनि नचाहँदा नचाहँदै मुस्कुराउँछन् । जब तिमी आफ्नै सोचमा हराएर कुनै वृद्धाले पत्तै नपाई बिरुवामा पानी हालेको दृश्य नियाल्छौ, तब मैले संसारका रङहरू बदलिएको महसुस गरेकी छु ।’

अनितले अहानको फिल्म बाहिरको सरल र मानवीय स्वभावको चर्चा गर्दै लेखेकी छन्, ‘मैले मेरा मम्मी र ड्याडीले तिमीलाई गहिरो विश्वास गरेको देखेकी छु। हरेक भिडियो कलमा उहाँहरूले ‘अहान, कस्तो छौ ? ठिक छ नि ?’ भनेर सोध्दा उहाँहरूको अनुहारमा प्रेमले भरिएको चमक देखेकी छु ।’

आफ्नो नोटको अन्त्यमा अनितले लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना अहान, तिमी जस्तो व्यक्तित्वको धनी व्यक्ति मेरो साथी भएकोमा मलाई सधैँ गर्व रहनेछ। संसारलाई तिमी जस्तो उपहार दिएकोमा धन्यवाद ।’

अनितको यस भावनात्मक पोस्टमा अहानले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘यो पढेपछि मैले जे महसुस गरेँ, त्यसलाई कुनै पनि शब्दले न्याय गर्न सक्दैन ।’

कमेन्ट गर्नुहोस्