रोशन बने ‘गंगा रानी’का नायक

फिल्म । निर्देशक राजबहादुर सानेको आगामी फिल्म ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताका रूपमा अनुबन्धित भएका छन्। करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो फिल्ममै मुख्य भूमिका हात पारेका हुन्। यो उनको डेब्यु फिल्म हो।

फिल्मका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकामा अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मा रोशन र वर्षाको जोडीलाई दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउनेछन्।

केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशन ‘गंगा रानी’लाई लिएर उत्साहित छन्। उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर प्राप्त भएकाले फिल्ममार्फत डेब्यु गर्न पाउँदा आफू खुसी रहेको उनले बताएका छन्।

निर्माण टिमले वर्षा सिवाकोटीलाई अनुबन्धित गरेसँगै चार अभिनेता र चार अभिनेत्रीका लागि अडिसन खुलाएको थियो। सोही अडिसनबाट रोशन मुख्य अभिनेताका रूपमा छनोट भएका हुन्। करिब ५०० भन्दा बढी आवेदकमध्येबाट उनलाई मुख्य भूमिकाका लागि छनोट गरिएको निर्देशक सानेले जानकारी दिए।

निर्देशक सानेका अनुसार अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप तीन अभिनेता र तीन अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘अडिसनमा सहभागी प्रतिभामध्ये पात्रसँग सुहाउने कलाकार छनोट गरिरहेका छौं। अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ निर्देशक सानेले भने।

आहा फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन्। साने स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन आगामी भदौको दोस्रो सातादेखि सुरु गर्ने तयारी गरिएको छ।

कमेन्ट गर्नुहोस्