नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म

देश । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । यो चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ । प्रिमनसुन अवधिमा विकसित चक्रवातले क्षति पुर्याउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले शुक्रबारसम्म पर्वतारोहण नगर्न/नगराउन भनेको छ । चक्रवातका कारण छिमेकी मुलुक भारतका महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक, गुजरात लगायत क्षेत्रको जनजीवन आइतबारदेखि नै प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने हुने उनले बताए । बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्