देश । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै जाँदा सर्लाहीमा चुलिएको आन्तरिक विवादले गर्दा अझै अधिवेशन हुन् सकेको छैन् । जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहविरूद्ध उभिन थालेपछि सर्लाहीमा विवाद चर्किएको हो । सर्लाहीको क्षेत्र नम्बर ४ ‘क’ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएर प्रदेश २ सरकारमा मन्त्री रहेका वीरेन्द्रप्रसाद सिंहमाथि केन्द्रीय पार्टी कार्यालय सानेपामा मंगलबार दुर्व्यवहार भएपछि थप विवाद बढेको छ ।
पार्टी कार्यालयमा पुगेका बेला संघीय सांसद अमरेशनिकट एक वडाध्यक्ष सहितको समुहले आफूमाथि नियोजित रुपमा दुर्व्यवहार गरेको मन्त्री सिंहले बताएका छन् । काठमान्डौ स्थित गौशालामा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुर्व्यवहार भएपछि आक्रोशमा आएर आफूले अपशब्द प्रयोग गरेको स्वीकार गरेका छन्। बुधबार सर्लाहीबाट काठमाडौं आइपुगेका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले नेपाली कांग्रेसमै बसेर पार्टी कमजोर बनाउने काम गरिरहेको आरोप समेत अमरेश माथि लगाएका छन् ।
यस्तै , सर्लाही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति राम आश्रय शाहले प्रेस विज्ञाप्ति जारी गर्दै घटना नियोजित रुपमा भएको भन्दै दोषीलाई कारवाहीको मांग गरेका छन् । ‘माननीय अमरेश सिंहको उक्साहटमा मन्त्री विरेन्द्र सिंह माथि दुर्व्यवहारको दोषीलाई कडा भन्दा कारवाही विधान बमोजिम गर्न केन्द्रीय समिति समक्ष माँग गर्दछु’ क्षेत्रीय सभापति शाहद्वारा जारी गरिएको विज्ञाप्तिमा उल्लेख छ ।
यस्तै , मन्त्री सिंहले अधिवेशनमा पराजित हुने बुझिसकेपछि अमरेशले उत्छृंखल व्यक्तिलाई योजनाबद्ध रुपमा आफुलाई दुर्व्यवहार गरेको बताएका छन् । मन्त्री सिंहले शीर्ष नेतृत्वबारे गैरजिम्मेवार अभिव्यक्ति दिने, अन्य पार्टीसँग साँठगाँठ गरेर पार्टीलाई कमजोर बनाउने दिशामा अमरेश अगाडि बढिरहेको आरोप लगाएका छन् । उनले अमरेश जस्ता नेता महाधिवेशनबाट बाहिरिने निश्चित रहेको उनले दाबी गरे।
संघीय सांसद अमरेशले विभिन्न बखेडा झिकेर जिल्लामा अधिवेशन हुन नदिने षडयन्त्र गरिरहेता पनि उनको त्यो चाहना कुनै हालतमा पूरा नहुने मन्त्री सिंह सहित कार्यक्रममा उपस्थित सर्लाही जिल्लाका नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारीहरुले बताए ।











