रिहा भए पौडेल

देश । ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परे । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका पौडेलले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोलामा बनेको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम थियो । र्‍यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर साँझ साढे ५ बजे तिर छाडेको छ ।

पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ परेका थिए भने धरपकडका क्रममा भएको झडपका क्रममा नेता रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यलगायत केही सामान्य घाइते भएका छन् । उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको बताइएको छ ।

वरिष्ठ नेता पौडेलले आफ्नै सरकार रहदा गठित उपभोक्ता समिति र नगरपालिकाले प्रमुख अथितिका रुपमा पुल उद्घाटन गर्न बोलाएपछि पुगेको बताएका छन् । उनले आफ्नो पाला देखि नै पुलमा बजेट विनियोजन भएको समेत जनाएका छन् । उनले कार्यक्रमलाई विथोल्न निषेधाज्ञा लगाईएको र आफु माथि फासिस्ट आक्रमण भएको समेत बताए ।

कमेन्ट गर्नुहोस्