देश । गत चैत्र ११ गतेदेखि नेपाल ‘लकडाउन’ छ । नेपाल सरकारले नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको दोस्रो व्यक्ति फेला पार्ने वितिकै लकडाउन गर्ने निर्णय गर्यो । छिमेकी मुलुक भारत लकडाउन बढाईरहेको अवस्थामा नेपालमा पनि त्यहि अवस्था छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि बढ्दो छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेपछि यसले दोस्रो चरणमा प्रवेश गरेको बताइएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।
कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । उनको ट्राभल हिस्ट्री छैन । यसैले गर्दा यी ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपाल सरकारले यो दोस्रो चरणमा प्रवेश गरेको बताएको हो । साथै , लकडाउनलाई कडाइको साथ पालना गर्न आग्रह पनि गरिएको छ । यसअघि नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना देखिएको थियो । तर, कैलालीमा भने बाहिरबाट आएका व्यक्तिबाट घरमै रहेको अर्को व्यक्तिलाई सरेको पाइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको नेपालमा पहिलो घटना हो ।
उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।







