स्वास्थ्यमापदण्डमा कडाइ

0 Shares

देश । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको भन्दै सरकारले फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण बढेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ र भिडभाड हुने क्षेत्रमा नियन्त्रण गरेको हो । संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

उक्त आदेश अनुसार ४० वटा स्थानीय तहमा वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् भने सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन पाउने छैनन् ।काठमाडौं उपत्यकाका सबै महानरपालिका र नगरपालिकाका विद्यालय वैशाख मसान्तसम्म बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसाम, बाग्मती र महांकाल गाउँपालिकाका विद्यालय भने बन्द हुने छैनन् । त्यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामाड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धान्र्थनगर, वीरेन्द्रनगर र भीमदत्त नगरपालिकामा पनि शैक्षिक संस्था बन्द हुनेछन् । यी स्थानीय तहमा भौतिक रुपमा विद्यार्थी उपस्थित हुन पाउने छैनन् र वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्नेछ । विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा र चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा भने नरोकिने सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताए ।

वैशाख मसान्तसम्म सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने सबै कार्यक्रम बन्द गरिएको छ । त्यस्तै मठ मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिकस्थलमा वैशाख मशान्तसम्म नित्यपूजा मात्र सञ्चालन गरिने भएको छ ।

यस्तै , सरकारले सार्वजनिक यातायात, पसल र सार्वजनिक कार्यालयमा मास्क नलगाई प्रवेश गर्न नपाउने आदेश जारी गरेको छ । मास्क नलगाई आउनेलाई कार्यालयको व्यवस्थापक, पसल सञ्चालक वा बसका चालक, सहचालकले १० रुपैयाँ लिएर मास्क दिन सक्नेछन् । साथै , होटल रेस्टुरेन्टहरु विहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउनेछन् । त्यसपछि उनीहरुले होम डेलिभरी सेवा दिन पाउनेछन् । बैंक तथा वित्तीय संस्थामा सेवा शुल्क र महशुल अग्रिम र एकमुष्ट गर्न चाहनेलाई सहज व्यवस्था मिलाउन पनि मन्त्रिपरिषदले आदेश जारी गरेको छ ।



थपिए १२ सय २७ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १ पीसीआर परीक्षणबाट सोमबार १२ सय २७ जना संक्रमित फेला परेको हो । त्यस्तै ५ सय ४७ एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १२ सय ८१ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २ सय ५४ छन् भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्