पूर्वप्रधानमन्त्री ओलीमा कोरोना संक्रमण पुष्टि

देश । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीलाई काेराेना संक्रमण भएकाे पहिलाेपल्ट हाे । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् ।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ । नेपालमा पछिल्लो कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १० हजार २ सय ५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्