देश । राष्ट्रपति रामचन्द्र पौडेलले ९ महिनाअघि संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै सामाजिक सञ्जालमा विरोध भईरहेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले थन्क्याएको विधेयकलाई बुधबार पौडेलले प्रमाणीकरण गरिदिएपछि राष्ट्रपति पौडेलले स्वविवेक प्रयोग नगरेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आईरहदा अभिनेता दीपकराज गिरीले सिफारिस गर्नेलाई छाडेर राष्ट्रपतिलाई मात्र किन गाली भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
उनले लेखेका छन्,’राजा फालेर राष्ट्रपति ल्याएको नै प्राधनमन्त्री र सदनलाई शक्तिशाली बनाउन हो । अनि दोष चाही राष्ट्रपतिलाई मात्र किन ? जसले सिफारिस गरे उनी दोषी हुन् ।’
अभिनेता गिरीले पछिल्लो समय भईरहेको प्रमाणीकरण गर्ने प्रस्ताव प्रधानमन्त्री, मन्त्रीपरिषद तथा सदन पनि उत्तिकै दोषी भएकाले राष्ट्रपतिलाई मात्र गालीगलौच गर्नु उपयुक्त नभएको सार व्यक्त गरेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि पौडेलले मन्त्रिपरिषद्को निर्णयलाई मुख्य आधार बनाएका हुन् । नागरिकता विधेयकले पारित गरेका चरणसमेत उल्लेख गरेका राष्ट्रपति पौडेलले अहिले भने मन्त्रिपरिषद्को निर्णयमा टेकेर जारी गरेको बताएका छन् ।










