प्राज्ञ गोदारले बनाए वर्ल्ड रेकर्ड

देश । नृत्य निर्देशक एवम् प्राज्ञ महेश गोदार (महेश्वर सुनार)लाई अर्को खुसी प्राप्त भएको छ । उनले एकसाथ छ सय जना सैनिकलाई थाली नृत्यमा प्रस्तुत गरेको भन्दै ‘वर्ल्ड बुक अफ रेकर्ड’ लन्डन, बेलायतले रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ । काठमाडौंमा एक समारोहबीच नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतको प्रतिनिधिको उपस्थितिमा महेशलाई यो प्रमाणपत्र प्रदान गरेका हुन् । भ्याली पृतनापति सागरबहादुर थापाको विशेष सहयोग र नेपाली सेनाको विशेष पहलमा यो रेकर्ड प्राप्त भएको प्राज्ञ महेशले बताएका छन् ।

उनले गत शिबरात्रीमा ६०० जना नेपाली सैनिकलाई काठमाडौंको टुँडिखेलमा एउटा गीतमा थाली नृत्य प्रस्तुत गराएका थिए । करिब दुई महिनाको निरन्तर अभ्यासपछि ६०० जना सैनिकले महेश गोदारको नृत्य निर्देशनमा थाली नृत्य प्रस्तुत गरेका हुन् । यही नृत्यका लागि यतिबेला महेशलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनले वर्ल्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले बिगत तीन दशकदेखि थाली नाच नाच्दै आएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भएको छमछमी नृत्य रियालिटी शोका पहिलो देखि चौथो सृँखलासम्म निर्णायक रहेका उनी लामो समयदेखि नृत्य निर्देशनमा सक्रिय छन् ।

कमेन्ट गर्नुहोस्