दुई दिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुँदै

देश । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुई दिने महोत्सव हुने भएको हो ।

साहित्यकार तथा संस्कृतिविद्हरु, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको नगरपालिका सभाहलमा आयोजित एक कार्यक्रममार्फत महोत्सवको संयोजन समेत रहेकी उपप्रमुख अनिता लामाद्वारा महोत्सवबारे जानकारी दिइयो । महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए ।

पहिलो दिन फाल्गुन ११ गतेको कार्यक्रम बुढानीलकण्ठ नगरपालिका १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुहरुको उपस्थिति रहने बताइएको छ ।

विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रमहरु महोत्सवमा समेटिएका छन् । सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्ने यस महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन् ।

कमेन्ट गर्नुहोस्