‘निलम्स अवार्ड २०२५’ सम्पन्न

देश । प्राइड मन्थ २०२५ को अवसरमा ‘क्रमशः इन्टरटेनमेन्ट’ को ब्यानरमा ‘निलम्स अवार्ड २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अवार्ड कार्यक्रम ट्रान्स एक्टिभिस्ट, मेकअप आर्टिस्ट तथा समाजसेवी निलम पौडेलको एकल पहलमा शुक्रबार राजधानीमा आयोजना गरिएको हो । अवार्ड समारोहमा यौनिक अल्पसंख्यक समुदायका लागि अमूल्य योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यस वर्ष, लैङ्गिक तथा अल्पसंख्यक समुदायका लागि उल्लेखनीय योगदान दिने सात जना व्यक्तित्वलाई सम्मानित गरियो ।

समारोहमा सम्मानित हुनेहरूमा गायकद्वय नट्टू शाह र पिरु राणा, कोरियोग्राफर तेञ्जु योञ्जन, समाजसेवी तथा डान्सर सुमन श्रेष्ठ (डल्ली ममी), मेकअप आर्टिस्ट तथा डान्सर उमिशा श्रेष्ठ, लोक गायक श्याम राना, र मेकअप आर्टिस्ट अनिष तामाङ रहेका छन् । त्यसैगरी, निलम्स अवार्डको ‘युथ अचिभमेन्ट अवार्ड’ बाट यस वर्ष अनु शाही ठकुरी, दिनुप मगर र एन्जल सम्मानित भए । सन् २०२३ बाट सुरु भएको निलम्स अवार्डको ‘महामहिम अवार्ड’ बाट भने सुष्मा लामा र केशाङ युडोन लाई सम्मान गरियो ।

क्रमशः इन्टरटेनमेन्टकी निर्देशक निलम पौडेलले लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई यौनिक अल्पसंख्यक समुदायले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभावलाई उजागर गर्न निलम अवार्ड कार्यक्रम आयोजना गरिएको बताइन् । बैंकर अनिल केशरी शाहको मुख्य आतिथ्यमा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा अभिनेत्री श्वेता खड्का, ओशिमा बानु, डा. सुमी मल्ल, मिस युनिभर्स सम्पदा घिमिरे, संगीता पुरी, संजय शर्मा, पूर्व मिस्टर नेपाल तथा डा. सन्तोष उपाध्याय, गायक सपन श्रेष्ठ, र सञ्चारकर्मी विना श्रेष्ठ लगायतका व्यक्तित्वहरू अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा कलाकार तथा तेस्रोलिङ्गी अनुपम श्रेष्ठ हटी नटीले अभिनेत्री श्वेता खड्कालाई सम्मान गर्दै उनका गीतहरूमा नृत्य प्रस्तुत गरेकी थिइन् । अवार्ड कार्यक्रमलाई निल हिरा समाज (ब्लु डाईमण्ड सोसाइटी), फ्रुट जेम, परी कस्मेटिक र मेकअप ब्रान्ड स्टेलाले सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्