१० महिनालाई पुग्ने नुन स्टक

देश । पछिल्लो समय कोरोना भाइरसको त्रास बढ्दो छ । यसको उच्च जोखिममा नेपाल पनि रहेकाले पछिल्लो समय त्रासको माहोल पनि छ । आउँदो दिनमा हुन् सक्ने परिस्थितिलाई मध्यनजर गर्दै मानिसले आवश्यक वस्तुलाई स्टक गर्न थालेका छन् । यसै क्रममा बजारमा केहि वस्तुको हाहाकार पनि देखिएको छ । मास्क , सेनिटाइजर , ग्याससंगै नुनको पनि अभाव हुने संकेत देखिएको छ । यस्तो संकेत बढ्दै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म देशको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकीय वस्तुको भण्डारण रहेको जनाएको छ । कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुन सक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो ।

बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुन थालेको विषयमा ध्यानाकर्षण भन्दै विज्ञप्ति जारी गरिएको हो । कर्पोरेशनसँग एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात रहेको कर्पोरेसनकी सीईओ उर्मिला श्रेष्ठले बताइन् । यो नेपालको माँग आउँदो १० महिनासम्मलाई धान्न सक्ने स्टक रहेको समेत उनले प्रस्ट्याइन् । नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ भने यसको आयातमा कुनै व्यवधान नभएको पनि सिईओ श्रेष्ठले जानकारी दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्