संगीत । गायन रियालिटी सो ‘ दि भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् ।
‘ब्लाइन्ड अडिसन’मा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक भ्वाइसको टीमले कोचमा सामान्य परिवर्तन गरेको छ । टीममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइनेछ ।
‘डान्सिङ विथ दि स्टार नेपाल’ हालै सफल प्रसारण गरेको टेलिभिजनले छिटै ‘भ्वाइस अफ नेपाल किड्स’ र बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ पनि यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।











