देश । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञाप्ति जारी गर्दै पुष्टि गरेको हो । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘… विस्स्वृत विवरण लिइएको र कोभिड-१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’
मृत महिलाको अन्तेष्टी कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले बनाएको कार्यविधि अनुसार भएको छ । उनको शव अन्तेष्टी शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिएको हो । कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनुपर्छ । मृतकका आफन्तले शव छुन समेत पाउँदैनन् । आफन्तले हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइनेछ भने आफ्नो परम्पराअनुसार शवलाइ नछोई जल छर्कने,पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप गर्न पाइनेछ । यसै विधि अनुसार उनको अन्तेष्टी गरिएको हो ।
मृत महिलाको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । मृत महिलालाई कोरोना भाइरस भएको थाहा पाउने वितिकै उनको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका- ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।








