‘उचित ठाउँ उर्जा क्षेत्र नै हो’

13 Shares

देश । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै दोस्रो कार्यकालको लागि निरन्तरता दिनु पर्ने मांग यतिबेला तिब्र छ । कुलमानले नेपाललाई लोडसेडिङ मुक्त गरेकै कारण उनलाई आम जनता मार्फत दोस्रो कार्यकालको कार्यभार सम्हाल्नु पर्ने दबाब नेपाल सरकारलाई छ । कुलमानले एक अन्तर्वार्तामा आफुले पाएको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् ।

‘म आफुले पाएको जिम्मेवारी सम्हाल्न तयार छु । तर , राइट म्यान इन राइट प्लेस भनिन्छ । र , मेरो लागि उर्जा क्षेत्र नै सहि स्थान हो’ कुलमानले भने । पछिल्लो समय उनलाई नेपाल वायुसेवा निगममा लग्नु पर्ने तर्क पनि उठिरहेको छ । यसमा उनले आफुलाई जहाँ लागे पनि जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिक्रिया दिए । ‘मैले पाएको जिम्मेवारी पुरा गर्छु तर विद्युतमा पाएको सफलताको आधार भने मेरो दक्षता नै हो’ उनले भने ।

विक्रम संवत २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

प्राधिकरणमा घिसिङ उपस्थित हुनासाथ कर्मचारी संगठनहरु आन्दोलित थिए भने उनीभन्दा बरिष्ठ उपकार्यकारी निर्देशकहरु नियुक्ति खारेजीका लागि सर्वोच्च अदालतमा रिट लिएर गएका थिए । करिब एक महिनासम्म कुलमान अदालती प्रक्रियाले अल्मलिए । त्यसपछि अदालतले उनलाई काम गर्ने बाटो खोलिदियो । उनले कार्यकाल सम्हालेको वर्षको तिहारमा विद्युत् प्राधिकरणले विगतमा जस्तो ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना निकालेन । त्यस्तो सूचना नआउनुको कारण थियो, लोडसेडिङ हटाउने योजनाको परीक्षण । र, यहीँबाट घिसिङको नाम एकाएक आम जनमानसमाझ चर्चामा आउन थालेको हो ।

हिउँदमा १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका जनतालाई ‘उज्यालो’ दिइरहने योजनामाथि त्यस वर्षको लक्ष्मीपूजाका दिनमा काठमाडौंमा परीक्षण गरियो र तिहारलगत्तै काठमाडौंलाई लोडसेडिङमुक्त घोषणा गरियो । त्यसपछि भरतपुर र पोखरा हुँदै देशभर नै लोडसेडिङ तालिका निकाल्ने काम बन्द गरियो । २०७५ वैशाखमा उद्योगहरुमा पनि लोडसेडिङ हटाएर प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त घोषित गर्यो ।

उनले आफ्नो कार्यकालमा प्राधिकरणलाई नाफामा पुर्याएका छन् । ग्राहक बढाउने , लोडसेडिङको अन्त्य गर्ने र खपत बढाएर प्राधिकरणलाई नाफामा लगेकै कारण उनलाई दोस्रो कार्यकालको निमित नियुक्त गर्नु पर्ने मांग उठिरहेको छ । सामाजिक सञ्जाल मार्फत पाउने प्रतिक्रियाले उनलाइ थप जिम्मेवार बनाएको छ । ‘हामीले गर्नु पर्ने काम गर्दा नै पाउने प्रतिक्रियाले थप जिम्मेवार बनाएको छ । यदि हामीले एक्स्ट्रा काम गर्यौ भने त के हुन्छ जस्तो छ । आम मानिसले गर्ने मायाले डर पनि थपिएको छ , साथै उनीहरुको साथले कम गर्ने प्रेरणा पनि’ कुलमानले भने ।

उनले आफ्नो विकल्प नरहेको भने स्वीकारेनन् । उनि निर्विकल्प हुनु नहुने तर्क गर्छन् । ‘विकल्प चाहिन्छ , म मात्र विकल्प होइन’ उनले भने । यद्दपी गएको चार वर्षमा आफुले बसाएको परिपाटी र आफु सिस्टममा भिजेकाले अगाडी सारिएका योजनालाई मुर्तरुप दिन अन्यको तुलनामा सहज हुने औल्याए । काठमान्डौ आएर बत्ति देखेका कुलमानले यो सफलता सबैको प्रयास र साथले निम्त्याएको परिणाम रहेको प्रस्ट्याए । ‘मलाइ कर्मचारी देखि मन्त्रालयबाट समर्थन नभएको भए म एक्लैले काम गर्न सक्ने अवस्था थिएन । यो सफलता प्राप्त गर्नुको कारणनै मैले पाएको फ्रीडम र सम्बन्धित सम्पूर्ण निकाएको साथ् नै हो’ कुलमानले भने । उनले नेपाल सरकारले दोस्रो कार्यकालको जिम्मेवारी दिएमा बहन गर्न तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्