खेलकुद । जारी युरो कप २०२० को फाइनलमा इटाली प्रवेश गरेको छ । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनल खेलमा निर्धारित र अतिरिक समयमा खेल १-१ बराबरीमा रहेपछि भएको पेनाल्टी सुटआउटमा स्पेनलाई ४-२ को नतिजामा पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । जितसँगै इटालीले ३३ खेलमा अपराजित यात्रा तय गरेको छ ।
पेनाल्टी सुटआउटमा इटालीका लागि पहिलो पेनाल्टी हानेका लोकाटेलीको प्रहारलाई स्पेनका गोलकिपर सिमोनले विफल पारे । स्पेनका ड्यानी ओल्मोले पनि पहिलो पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार आकासिएको थियो। यस्तै अल्भारो मोराटाको चौथो प्रहारलाई इटालीका गोलकिपर दोनारुमाले विफल पारिदिएका थिए। पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे। यस्तै स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो।
खेलको सुरुआतदेखि नै निरन्तर आक्रमण गरे पनि स्पेन फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केही आक्रमक शैली अपनाएको इटालीले ६०औं मिनेटमा फेड्रिको किएसाले गोल गर्दै अज्जुरीलाई अग्रता दिलाएका थिए । खेलमा प्रभुत्व जमाएर पनि १-० ले पछि परेको स्पेनका लागि सब्स्टिच्युट खेलाडी अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । फेरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान प्रवेश गरेका मोराटाले ड्यानी ओल्मोको पासमा सेन्टर लाइनबाट पेनाल्टी एरियमा प्रवेश गर्दै उत्कृष्ट गोल गरेका थिए ।
इटालीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि २००० र २०१२ मा फाइनलसम्म पुगेको इटालीले उपाधि भने जित्न सकेको छैन । तीन पटकको विजेता स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र १२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटालीसँग पराजित हुँदै क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । (एजेन्सी)