देश । नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो छ । गत आइतबार देखि संक्रमितको वृद्धिदर बढ्दो छ । शुक्रबार विहान संक्रमित ९ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने राय प्रमुख जिल्ला अधिकारीहरुको छ ।
बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव दिएको हो । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार नै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका प्रमुखहरुसँग छलफलसमेत गरेका थिए । राहत वितरणको नाममा पास लिने र राजनीतिक कृयाकलाप गर्ने कामलाई नियन्त्रण गर्नुपर्ने सुझाव पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले दिएका छन् ।









