देश । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै जाँदा सर्लाहीमा चुलिएको आन्तरिक विवादले गर्दा अझै अधिवेशन हुन् सकेको छैन् । जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहविरूद्ध उभिन थालेपछि सर्लाहीमा विवाद चर्किएको हो । सर्लाहीको क्षेत्र नम्बर ४ ‘क’ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएर प्रदेश २ सरकारमा मन्त्री रहेका वीरेन्द्रप्रसाद सिंहमाथि केन्द्रीय पार्टी कार्यालय सानेपामा मंगलबार दुर्व्यवहार भएपछि थप विवाद बढेको छ । पार्टी कार्यालयमा पुगेका बेला संघीय सांसद अमरेशनिकट एक वडाध्यक्षले आफूमाथि नियोजित रुपमा दुर्व्यवहार गरेको मन्त्री सिंहले बताएका छन् । काठमान्डौ स्थित गौशालामा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुर्व्यवहार भएपछि आक्रोशमा आएर आफूले अपशब्द प्रयोग गरेको स्वीकार गरेका छन्। बुधबार सर्लाहीबाट काठमाडौं आइपुगेका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले नेपाली कांग्रेसमै बसेर पार्टी कमजोर बनाउने काम गरिरहेको आरोप समेत अमरेश माथि लगाएका छन् ।
‘अधिवेशनमा पराजित हुने बुझिसकेपछि अमरेशले उत्छृंखल व्यक्तिलाई योजनाबद्ध रुपमा गरेर मलाइ दुर्व्यवहार गराएका हुन्’ उनले भने ,’यद्दपी म कार्यकर्ताका लागि सदैव सँगै रहनेछु ।’ मन्त्री सिंहले शीर्ष नेतृत्वबारे गैरजिम्मेवार अभिव्यक्ति दिने, अन्य पार्टीसँग साँठगाँठ गरेर पार्टीलाई कमजोर बनाउने दिशामा अमरेश अगाडि बढिरहेको आरोप लगाएका छन् । उनले अमरेश जस्ता नेता महाधिवेशनबाट बाहिरिने निश्चित रहेको उनले दाबी गरे।
संघीय सांसद अमरेशले विभिन्न बखेडा झिकेर जिल्लामा अधिवेशन हुन नदिने षडयन्त्र गरिरहेता पनि उनको त्यो चाहना कुनै हालतमा पूरा नहुने मन्त्री सिंह सहित कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारीहरुले बताए ।










