विदेश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वभर महामारीको रुपला फैलिरहेको छ । यसको बढ्दो संक्रमणलाई कम गर्न विश्वका अधिकांस देशले ‘लकडाउन’ गरेर सामाजिक दुरी कायम गरिरहेका छन् । यसको संक्रमणलाई कम गर्न साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् । गत साता साउदीले रियादलगायत अन्य सहरमा भने कर्फ्यूको समय बढाएको थियो । यी सहरमा २४ घण्टा नै कर्फ्युको घोषणा गरिएको हो । यी सहरमा मानिसहरुलाई अत्यावश्यक सामग्रीका लागि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिइएको छ ।
शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदा सम्म जारी रहने तथा मुलुकका १३ ओटै प्रान्तको आवतजावतमा भने रोक लगाइने बताएको छ । कोरोना भाइरसको कारण साउदी अरेबियामा ५२ जनाले ज्यान गुमाई सकेका छन् । यहाँ संक्रमितको संख्या ४ हजार ३३ रहेको छ भने ७ सय २० जना संक्रमण मुक्त भएका छन् । (एजेन्सी)








