ट्रम्पले लेखे ‘हामी समिक्षा गरिरहेका छौँ’

विदेश । पछिल्लो समय अमेरिका र इरानको गतिविधिले विश्वको ध्यान तानिरहेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सैन्य अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी सेनाले इराकको राजधानी बगदादमा गरेको आक्रमणबाट इरानी सैन्य कमाण्डर सुलेमानी मारिएका थिए । सुलेमानीको मृत्युबाट इरानलाई ठूलो क्षति पुगेको बताइन्छ । अमेरिका र इरान एकअर्काप्रति आक्रमणमा उत्रिएकाले मध्यपूर्व क्षेत्रमा तनाव सिर्जना भएको छ । इरानले इराकस्थित अमेरिकी सेना बसेको इरबिल र अल-असदमा ड्रोन आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुहरु चुप लागेर नबस्ने बताएका छन् ।

इराकस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको आक्रमणको क्षतिबारे समीक्षा गरिरहेको बताएका छन् । ट्रम्पले पनि इरानले अमेरिकी सैन्य अड्डा रहेका दुई ठाउँमा आक्रमण गरेको पुष्टि गरेका छन् । ट्वीटरमार्फत् आक्रमण भएको पुष्टि गर्दै उनले यसबारे छिट्टै एक बयान जारी गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ । हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्ने छु ।’

(एजेन्सी सहयोगमा)
कमेन्ट गर्नुहोस्