रिसाललाई उत्कृष्ट ‘मेयर अवार्ड’

देश । काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ बाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरेका हुन् । नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रणका लागि उत्कृष्ट योगदान पुर्‍याएवापत रिसाललाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

अवार्ड वितरणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा गठन भएको छनौट समितिले देशका विभिन्न भागमा कार्यरत स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, वकालतकर्ता, नीतिनिर्माता तथा स्वयंसेवीहरूको आवेदन, मनोनयन तथा सिफारिस आएको थियो । रिसाललाई उक्त छनोट समितिले नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रण विधामा अवार्ड प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

‘नेपालमा बढ्दै गएको नसर्ने रोगको भारलाई कम गर्दै नागरिकलाई स्वस्थ राख्न समुदायस्तरमा पुगेर यहाँले निर्वाह गर्नुभएको योगदान र जनप्रतिनिधिका रुपमा समयको समेत पर्वाह नगरी अहोरात्र पुऱ्याउँदै आउनुभएको सेवाको उच्च मुल्यांकन गर्दै यो अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो’, आयोजक संस्थाले भनेको छ।

कमेन्ट गर्नुहोस्