अनशनमा रहेका गोर्खालीलाई साथ

विदेश । केहि दिन यता बेलायतमा रहेका ब्रिटिस गोर्खाहरुले आफ्नो सेवा र सुविधामा समानताको मांग गर्दै आमरण अनशनमा बसिरहेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसन बसेका गोर्खाहरुलाई एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद युकेले साथ् दिईरहेको छ । आमरण अनशनमा रहेकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नो साथ् र समर्थन सहित मनोबल उच्च पार्न उपस्थित भएको समन्वय परिषद युकेका अध्यक्ष लाल बहादुर गुरुङले बताए ।

आमरण अनशनमा रहेका ब्रिटिस गोर्खालीलाई साथ् दिन अध्यक्ष गुरुङसँगै सचिव राम प्रसाद पन्थी , सह-सचिव अन्जु कुँवर र सदस्य बलराम सुवेदी पनि उपस्थित थिए । आमरण अनशनका संरक्षक कृष्ण बहादुर राईसंगै अनशनमा रहेका धन गुरुङ , पुष्पा राना घले , ज्ञानराज राईलाई समन्वय परिषदको टीमले आफुहरु साथमै रहेको समेत जनाए । साथै , उक्त टीमले नेपाल सरकारको बेलायत स्थित दुतावास मार्फत उक्त समस्यालाई सम्बोधन गर्नु पर्नेमा समेत जोड दिएको थियो ।

यस्तै , अभिनेत्री जोआना लुम्लेले पनि ब्रिटिस गोर्खाको समस्या तत्काल समाधान गर्न लाई आग्रह गरेकी छिन् । ७५ वर्षिया हलिउड अभिनेत्री लुम्लेले असमान पेन्सनको नीति अन्त्य गर्न जोड दिदै बहादुर र इमान्दार गोर्खाहरु यसरी भोक हड्तालमा बस्नु निकै दुःखद रहेको जनाउदै सरकारले तत्काल माग सुन्नु आग्रह गरिन । सरकारले तत्काल आन्दोलनकारी गोर्खालाई भेटेर माग पुरा गर्नुपर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्