दौरामा ‘ग्रामी’ पुगे मनोज

संगीत । संगीत क्षेत्रको चर्चित अवार्ड मध्यको एक हो ‘ग्रामी अवार्ड’ । यसको ६२ औँ संस्करण गत आइतवार सम्पन्न भएको छ । अवार्डमा लस एन्जलसमा आयोजित अवार्ड समारोहमा आइपुग्ने र रेड कार्पेटमा हिड्नेको चर्चा निकै हुन्छ । त्यहाँ पुग्नु र अवार्डमा नोमिनिज हुनु संगीतकर्मीको सपना पनि हो । यसको अवसर पाएका छन् , गायक मनोज सिंहले । ‘ग्रामी अवार्ड’मा गायक सिंह नेपाली पोसाकमा सहभागी भए । विश्वकै प्रतिष्ठित सांगीतिक अवार्डमा मनोनयनमा पर्ने सिंह पहिलो नेपाली हुन् । मनोजसँगै जर्मनीकी देवा प्रेमाल र इंग्ल्यान्डका मिटेनले सांगीतिक एल्बम ‘देवा’मा सहकार्य गरेका थिए ।

‘देवा’मा रहेका सातवटा धुनमध्ये चारवटा मनोजले नै रचेका थिए । यही एल्बम ग्रामीको ‘बेस्ट न्यू एज एल्बम’ विधामा मनोनयनमा परेको थियो । लोकप्रिय ब्याण्ड १९७४ एडीका सदस्यसमेत रहेका बाँसुरी वादक मनोज ग्रामी अवार्डका लागि निकै उत्साहित रहेको उनको सामाजिक सञ्जाल मार्फत देखिएको छ । अवार्डमा सहभागी हुँदै गर्दा चार किसिमका पहिरनको तस्बिर फेसबुकमा राख्दै उनले कुन पहिरनमा अवार्ड जाने भन्दै सोधेका थिए । उनि नेपाली पहिरनमै अवार्ड पुगे । उनि दौरामा ठाँटिएर अवार्ड पुगेका हुन् । मनोजले १९७४ एडीका ब्याण्डसँग ‘सम्झी बस्छु’, ‘बाँच अनि बाँच्‍न देऊ’, ‘गुराँसै फुल्यो’ र ‘पिँजडाको सुगा’जस्ता चर्चित गीतमा बाँसुरी बजाएका छन् ।

कमेन्ट गर्नुहोस्