फिल्म। मोडलिङ, टेलिभिजन हुँदै अभिनेत्री बनेकी शुभेच्छा खड्का अभिनित दोस्रो फिल्म ‘प्रेमा’ शुक्रबार प्रदर्शन हुँदैछ। गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको फिल्ममा अभिनेत्री खड्कासँगै अभिनेता अरुण क्षेत्री र अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन्। टेलिभिजन होस् वा स्टेजमा मोडर्न अवतारमा प्रस्तुत हुने अभिनेत्री खड्काले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकी छिन्।
सामान्य युवतीको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री खड्काले आफू पात्र अनुसार प्रस्तुत भएको बताइन। ‘फिल्ममा फरक देखिने कोशिश नै गरेकी हुँ। किनकि बाहिरी जीवन र फिल्म फरक हुन्। म यस्ता निर्देशकले चाहेको पात्रमा उहाँकै कल्पनाको प्रेमा बनेकी छु’, अभिनेत्री खड्काले भनिन्,’काठमाडौँमा हुर्के बढेकी भएकाले सुदूरपश्चिमको लवज र शैली समात्न गाह्रो सुरूवती समयमा सहज थिएन। मैले पनि धेरै मेहनत गरेँ ।’
उनले सोझी र लजालु प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । ट्रेलरले त्रिकोणात्मक प्रेमकथाको छनक दिए पनि यही कोणमा रहेको ट्वीस्ट नै फिल्मको प्राण रहेको बताइन् । ‘मलाइ यो जीवनको पाटोलाई बुझ्ने मौका पनि मिल्यो। यसले सबै प्रेमी र प्रेमिकाको भावनालाई समेटेको छ’, अभिनेत्री खड्काले भनिन्,’प्रेम कथामा बनेको फिल्ममार्फत व्यक्त गरिएको भावनाले बाहिरी जीवनमा समेत प्रभाव पार्छ।’ उनले आफू कलाकार भएकाले च्यालेञ्जिङ्ग भूमिका झनै गर्ने बताइन।
सहरीया देखिने अभिनेत्री खड्का फिल्ममार्फत गाउँले लुक्स दिएकी छिन्। ‘म पात्र भएर प्रस्तुत हुन् चाहन्छु। आफूले बढी भन्दा बढी मेहनत गरेर पात्रलाई न्याय गर्ने कोशिश रहन्छ’, उनले भनिन्,’मेरो बाहिरी आवरणलाई हेरेर मलाई र मैले गर्ने कामलाई जज गर्नु हुदैन। पात्रलाई न्याय गर्न सकेकी सकिन् भन्नेले फरक पार्छ।’ उनले र निर्देशक भण्डारीले ‘रणवीर’ मार्फत फिल्ममा डेब्यु गरेका थिए। निर्देशक भण्डारी ‘प्रेमा’को स्क्रिप्ट सत्य चरित्र प्रेरित रहेको बताउँछन् । उनले वास्तविक चरित्रलाई फिल्मी रुप दिएको बताए ।
फिल्ममा ‘महापुरुष’ अभिनेता अरुण क्षेत्रीले शुभेच्छा र सृष्टि श्रेष्ठको ‘लभ इन्टरेस्ट’को भूमिका निर्वाह गरेका छन् । जापानबाट फर्किएर अभिनेता बन्न लामो संघर्ष गरेका उनले अडिसनमार्फत यो भूमिका पाएको बताए । उनले ‘ज्याकी आइएम २१’ पछि यो फिल्मको अफर आएको र चरित्र मन परेकाले काम गरेको बताए । ‘म जुन उमेर समूह र वर्गको प्रतिनिधित्व गर्छु, यो कथाको दुनियाँ पनि त्यही नै हो । यसको कथा साधारण छ तर साधारण कुरा उसै गरी भनिँदा ती विशिष्ट हुन्छन् भन्ने लाग्छ । यो फिल्म पनि म र दर्शक दुवैका लागि विशिष्ट हुन्छन् भन्ने कुरामा आशावादी छु,’ अरुणले भने । यो फिल्मका निर्माता विवेक घिमिरे हुन् । उनले यसअघि ‘चिनी कम रङ कडा’ शीर्षकको फिल्म निर्देशन गरेका थिए ।











