रुचाइयो ‘कोपिला’

फिल्म । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार हेटौंडा च्यारिटी शो गरिएको छ । फिल्मको च्यारिटी शोमा निर्मलाकी आमा दुर्गा देवीसहित फिल्मका कलाकारहरु उपस्थित थिए । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई उक्त शोमा रुचाइएको थियो ।

मकवानपुर जागरण अभियानले आयोजना गरेको फिल्मको च्यारिटी शोमा स्वर्गीय निर्मलाकी आमा दुर्गादेवीलाई आभार पत्रसहित नगद पचास हजार प्रदान गरिएको थियो । पन्तलाई फिल्मका निर्देशक अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफ्ले जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

फिल्मको च्यारिटी शोमा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायत उपस्थित थिए । फिल्ममा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्म भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरिको अभिनयको पनि प्रशंसा भएको छ ।

कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व.पन्तको कथालाई उठान गरेर फिल्म बनाएकोमा आभार व्यक्त गरे । फिल्मले आम निर्मलाहरुको प्रतिनिधित्व गर्ने उनको भनाई छ । यस्तै, स्व.पन्तकी आमा दुर्गादेवीले फिल्मबाट समाजमा उच्च शिक्षा मिल्ने विश्वास व्यक्त गरिन् । फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्