फिल्म । भनिन्छ नेपाली फिल्म बनाउन त गाह्रो छ नै चलाउन झनै । किनकी नेपाली फिल्म नेपालमै प्राथमिकताको आधारमा हेर्ने हो भने हलिउड र बलिउडपछि आउँछ । किनकी यहाँ हलिउड र बलिउडको फिल्ममा सामान्य लगानी (नेपाल वितरण अधिकार) गरेर सहजै मुनाफा कमाउन सकिन्छ । तर , पनि नेपाली निर्माताहरु नेपाली फिल्म बनाउन छाडदैनन् । बेलाबखतमा अभिनेता तथा लेखक दीपकराज गिरी आफ्नो सामाजिक सञ्जालको स्टाटसको कारण चर्चामा आउने गर्छन् । उनि आफैले तीतो कुरा गर्ने स्वीकार्छन् । किनकी तीतो सत्य हुन्छ ।
राजधानीमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा दीपकले नेपाली फिल्मी क्षेत्रमा पनि डाक्टर गोविन्द केसीको खाचो औल्याए । ‘अब क्रान्तिको आवश्यकता छ यहाँ’ उनले भने ‘ नि:स्वार्थ रुपमा लड्ने डाक्टर केसी जस्तो योद्धा चाहियो र जन्मिन पनि सक्छ ।’ तत्कालै गरिएको प्रश्नमा उनले जवाफ दिए ‘म अनसन पनि बस्न सक्छु ।’ उनले नेपाली फिल्म र विदेशी फिल्ममा गरिने विभेदको पनि चर्चा गरे । ‘यहाँ नेपाली फिल्मलाई सेन्सरमा लगियो भने निकै खोजीनिती हुन्छ , हरेक कागजको पाना पल्ट्याईन्छ तर विदेशी फिल्म रातारात सेन्सर हुन्छ’ उनले भने ।
विदेशी फिल्म प्राय विहिबार सेन्सर हुने गरेका छन् भने अधिकाँस फिल्मले नेपालमा प्रदर्शन हुँदा सेन्सरले दिएको सर्टिफिकेट राख्दैनन् । र , त्यसको अनुगमन सम्बन्धित निकाएले गर्दैन । ‘हिन्दी र नेपाली चलचित्रलाई समान हैसियत दिइन्छ भने म सोच्न वाध्य हुन्छु कि म नेपालमा छु या भारतको मझपरपुरमा छु ।’ उनले नेपाली फिल्मलाई कला संस्कृतिको जगेर्नाको रुपमा सरकारले लिनु पर्ने औल्याए । पछिल्लो समय फिल्मनगरीमा देखिएको राजनीतिले गर्दा नै विकासोन्मुख रहेको औल्याउदै दीपकले एकजुट फिल्मकर्मी नै हुनु पर्नेमा जोड दिए । उनले यस क्षेत्रमा आफ्नो दुनो सोझ्याउने प्रवृतिले गर्दा समस्यामा परेको औल्याए । उनले कार्यक्रम अवधिभर नै नेपाली फिल्मलाई अगाडी बढ्न रहेका अड्चनलाई औल्याए ।