फिल्म । नयाँ टिम अनि नयाँ कन्सेप्ट ‘सन्की डाक्टरको प्रेम कथा’मा बनेको फिल्म ‘अर्जुन रेड्डी’ लाई दर्शकले धेरै रुचाए । सन्दीप वांगा रेड्डीको निर्देशनमा निर्मित फिल्मले तेलगु भाषामा मात्र नभई बलिउडमा समेत धमाल मचायो । शाहिद कपूरको ढल्दो करियरलाई माथि ल्याएर स्टारडम बढाउने काम गर्यो । बलिउडमा ‘कबिर सिंह’ बनिसकेपछि यतीबेला तामिल फिल्म ‘आदित्य वर्मा’ आउने तयारीमा छ । यसै फिल्म मार्फत चियान विक्रमका छोरा ध्रुव विक्रमले यसै फिल्म मार्फत डेब्यु गर्दैछन् । अब यो नेपाली भाषामा पनि बन्ने भएको छ ।
नेपाली फिल्म निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले ‘अर्जुन रेड्डी’ लाई नेपालीमा बनाउने अधिकार खरिद गरेकोछ । नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् । युएसएमा कबड्डी , पुरानो डुङ्गा लगायतको फिल्म निर्माण गरेको युवा फिल्म्सको ब्यानरमा ‘सफर’ निर्माण भईसकेको छ ।









