सङ्गीत । नेपाली सांगीतिक ब्याण्ड नेपथ्य पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ । पीभीई नेटवर्कको आयोजनामा आगामी फेब्रुअरी २८ मा हुन लागेको ‘नेपथ्य लाइभ सिलिगुडी’ कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछ । कन्सर्ट उत्सोधारा टिष्टा टाउनशिप, कावाखली ग्राउन्डको पछाडिको क्षेत्रमा आयोजना हुनेछ । उत्तर बंगालको प्रवेशद्वारका रूपमा परिचित सिलिगुडीमा पूर्वी भारत तथा हिमाली क्षेत्रका नेपाली संगीतप्रेमीहरूमाझ सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।
सिलिगुडी कन्सर्ट पीभीई नेटवर्कले यस क्षेत्रमा आयोजना गर्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रत्यक्ष कन्सर्ट हो । पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थले सिलिगुडीमा नेपथ्य ल्याउनु संस्थाको विश्वास र प्रतिबद्धताको प्रतिबिम्ब भएको बताए । ‘यस क्षेत्रमा दर्शकहरूले ठूला कन्सर्टको प्रत्यक्ष अनुभव लिन पाउनुपर्छ । हाम्रो उद्देश्य विश्वस्तरीय कन्सर्ट अनुभव प्रदान गर्नुका साथै नेपथ्यको सांगीतिक तथा सांस्कृतिक धरोहरलाई सम्मान गर्नु हो’, उनले भने ।
कायस्थका अनुसार नेपाल र भुटानबाट दर्शकहरूको सहभागिता अपेक्षित छ भने भारतका मुम्बई, बेंगलुरु, नयाँ दिल्ली तथा पूर्वोत्तर क्षेत्रबाट पनि दर्शकहरूले कन्सर्टप्रति चासो देखाएका छन् । नेपथ्यको कन्सर्टका लागि आयोजकले अर्ली बर्ड टिकट अनलाइनमार्फत उपलब्ध गराएका थिए, जुन बिक्री भइसकेका छन् । हाल सीमित संख्यामा मात्र टिकट बाँकी रहेको आयोजकले जनाएको छ । नेपालमा भने खल्ती बाइ आइएमई टिकटिङ साझेदारका रूपमा टिकट उपलब्ध छन् ।
तीन दशकअघि स्थापना भएको नेपथ्य दक्षिण एसियाका प्रभावशाली ब्याण्डहरूमध्ये एक हो । नेपथ्यको संगीत सामाजिक जीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित छ । यसअघि पनि ब्याण्डका गीतहरू उत्तर बंगाल, सिक्किम, नेपाल तथा छिमेकी क्षेत्रहरूमा अत्यन्त लोकप्रिय रहेका छन् । नेपथ्यको यो कन्सर्ट सिलिगुडीको इतिहासमा दोस्रो ठूलो टिकटसहितको प्रत्यक्ष कन्सर्ट हुने आयोजकको दाबी छ । यसअघि यस्तै स्तरको कन्सर्ट भारतीय गायक अरिजित सिंहले गरेका थिए ।
यसअघि पीभीई नेटवर्कको प्रोपाइटरी आइपी कन्सर्ट ‘लेट्स गेट लाउड–इन्डिया सिरिज’ अन्तर्गत गायक सज्जन राज वैद्य प्रस्तुत भएका थिए । उक्त सिरिज गत वर्ष नोभेम्बरमा सिलिगुडी र सिक्किमको गान्तोकमा आयोजना गरिएको थियो, जहाँ १२ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । गान्तोक शो सिक्किमकै सबैभन्दा सफल टिकटसहितको प्रत्यक्ष कन्सर्टका रूपमा स्थापित भएको थियो ।
नेपथ्यले यसअघि नेपालसहित युएई, अस्ट्रेलिया, युरोप, जापान र अमेरिकामा सयौँ कन्सर्ट गरिसकेको छ । पीभीई नेटवर्क दक्षिण एसियाको प्रमुख मनोरञ्जन प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ । यसले हालसम्म ४० भन्दा बढी शहरमा ३०० भन्दा बढी इभेन्ट सञ्चालन गर्नुका साथै ५० भन्दा बढी नेपाली कलाकारसँग सहकार्य गरिसकेको छ ।










