फिल्म । बलिउडको ठुला फिल्म नेपाल भित्रिने बेलामा शोलाई लिएर राम्रै चर्चा हुने गर्छ । हल संचालकनै कसले धेरै शो दिने कम्पिटिसन झैँ हुन्छ । किनकी प्राय हलले फिल्म फिक्समा किनेका हुन्छन । विदेशी फिल्म आउँदा नेपाली वितरकले विभिन्न हलसंग फिक्समा फिल्म लिन आग्रह गर्छन , र त्यहि अनुसार फिल्मले प्राथमिकता पाउछ । आफ्नो लगानी परेपछि संचालक पनि शो दिनलाइ कन्जुस्याई गर्दैनन् । फलत विदेशी फिल्मले व्यापार राम्रो गरेपनि नगरेपनि विकेन्डमा शोको कमि हुदैन । चाहेको समयमा फिल्म हेर्ने व्यवस्था हलले गर्छ । तर , नेपाली फिल्ममा यस्तो देखिदैन । यसवर्ष प्रदर्शन भएको फिल्ममा दाल भात तरकारी , जात्रै जात्रा , कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कैले हलमा राम्रो नै व्यापार गरे । तर , कबड्डी कबड्डी कबड्डी बाहेक अन्य फिल्म हल संचालकको प्राथमिकतामा परेनन् ।
उनीहरुले उपयुक्त समय र बढाएर शो दिन चाहेनन् । जबकी विदेशी फिल्मको हकमा भने उदार हुने गरेका छन् । ‘नेपाली फिल्मले पनि हलमा राम्रो व्यापार गरेको छ भने त्यसको सिरिजलाई बढी भन्दा बढी शो दिनु पर्छ कि नाइँ ?’ निर्माता रोहित अधिकारी प्रश्न गर्छन । उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाली फिल्मलाई हल संचालकले प्राथमिकता नदिने गरेको गुनासो सहित स्टाटस पोस्ट गरेका छन् । विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने नेपालका हल सञ्चालकको पुरानो रोग हो । नेपाली फिल्ममा दर्शकको उपस्थिति राम्रो हुँदा पनि मल्टीप्लेक्सहरुले सोज बढाउन आवश्यक ठान्दैनन् । तर, विदेशी फिल्मलाई भने आवश्यकभन्दा पनि बढी सोज दिइन्छ । यस्तै प्रवृतिको विरुद्धमा बोल्ने गर्छन , निर्माता तथा कलाकार दीपकराज गिरी । ‘बोल्यो छुच्चो भइन्छ तर म यथार्थ बोल्न पछि पर्दिन’ दीपक भन्छन् ।
नेपाली फिल्म भएर कम दिनु राम्रो नभएको उनको बुझाइ छ । रोहितको स्टाटस शेयर गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘सत्य कुरा । सही हो । देशै उताबाट चल्या छ, हलको के कुरा । निर्माताहरू हलवालासँग डराउँछन्, हलवाला वितरकसँग डराउँछन्, वितरक उताको खान्छन् अनि यता कराउँछन् ।’ वितरकहरु भारतको खाएर नेपालमा कुर्लिने गरेको दीपकको अरोप छ । दीपकले बेलाबखतमा आवाज उठाउने कोसिश नगर्ने हैनन् तर उनि एक्लै हुन्छन । ‘मेरो फिल्मले त दर्शकको माया पाएर राम्रो गरिरहेको छ तर मैले उठाउने आवाज सबैको लागि हो’ दीपक भन्छन् ,’आज नबोले भोलि आफैलाई पर्छ ।’ उनले नेपाली फिल्म निर्माताहरु एक जुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताउछन् । त्यसो त जात्रै जात्रा रिलिजको समयमा निर्माता रविन्द्र सिंह बानिया र निर्देशक प्रदीप भट्टराई , घामट शेरेको रिलिजको समयमा निश्चल बस्नेत र हेमराज विसी नबोलेका हैनन् तर तिनले त्यो आवाजको अरुको लागि भने उठाउन सकेका छैनन् । आफुलाई पर्दा बोलेपनि पछि यिनले मल्टिप्लेक्सले गर्ने व्यवहारको विषयमा बोल्न चाहेनन् ।