फिल्म । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का बाढीपहिरो प्रभावितको सहयोगमा जुटेकी छन् । फिल्मको प्रमोसन स्थगित गरेर उनी राहत सामग्रीसहित नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेकी हुन् ।
गत बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारसँग भेटघाट गर्दै न्यान्सीले राहत सामग्रीसमेत वितरण गरेकी छन् । उनले प्रभावित क्षेत्रमा पुगेर स्थानीयको अवस्था बुझ्नुका साथै तत्काल आवश्यक सामग्रीबारे जानकारी लिएकी थिइन्।
न्यान्सीका अनुसार पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर उनले बाढी–पहिरोबाट प्रभावित तथा उद्धार गरी उपचारका लागि ल्याइएका व्यक्तिसँग भेटघाट गरेकी थिइन्। सो क्रममा उनले वडा अध्यक्षसँग समेत भेटेर प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे जानकारी लिइन्।
यात्राका क्रममा आवश्यकतामा रहेका सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीलाई मास्क र ग्लोभ्ससमेत उपलब्ध गराएको उनले बताइन्। त्यसपछि उनले विभिन्न प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै युनाइटेड स्कुल, बटर धोबिघाटलगायत स्थानमा पुगेर स्थानीयको अवस्था बुझ्ने प्रयास गरेकी थिइन्।
‘बाढी–पहिरोबाट प्रभावित परिवारसम्म प्रत्यक्ष पुगेर उहाँहरूको अवस्था बुझ्ने र सकेको सहयोग गर्ने उद्देश्यले म नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेँ,’ न्यान्सीले भनिन्।
उनले आफ्नो अभियानमा लायन्स क्लबका सदस्यले समेत हातेमालो गर्दै सहयोग गरेको बताइन्। सामूहिक प्रयासले राहत तथा सहयोगलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको उनको भनाइ छ।
‘मैले गरेको यो सहयोग कुनै ठूलो कुरा होइन,’ उनले भनिन्, ‘यस्तो कठिन समयमा प्रभावित परिवारसम्म पुग्नु, उहाँहरूको कुरा सुन्नु र आफूले सकेको ठाउँबाट साथ दिनु नै मेरो उद्देश्य हो। यो एउटा सुरुवात मात्र हो—सकेसम्म निरन्तर सहयोग र साथ दिइरहनेछु।’
प्रदर्शनको संघारमा रहेको फिल्म ‘अक्षरा’को प्रमोसन स्थगित गरेर न्यान्सी राहत तथा सहयोगका लागि प्रभावित क्षेत्रमा पुगेकी हुन्। पूर्वमिस नेपाल इन्टरनेसनलसमेत रहेकी न्यान्सीको यो दोस्रो फिल्म हो।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का र गीता अधिकारीलगायत कलाकारको अभिनय छ।
दीपेन बस्न्यातको छायांकन र गौतम खड्काको सम्पादन रहेको फिल्म क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको हो। फिल्मकी प्रस्तुतकर्ता सोनी थापा हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्।










