फिल्म । फिल्मका निर्मतालाई जति व्यसायको चिन्ता हुन्छ , त्यहि मात्रामा अभिनेतालाई आफ्नो अभिनयको । व्यसायिक उत्तरदायीत्व त हुन्छ नै तर , फिल्मले पाउने प्रतिक्रिया अझै प्रमुख । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘नीरफुल’ आउँदो फागुन ३० मा रिलिज हुँदैछ । फिल्मको व्यसायिक पाटोको चर्चा त रिलिजपछी होला तर , यो नेपाली फिल्मलाई चाहिने कन्टेनमा निर्माण भएको दयाको बुझाइ छ । ‘हामीलाई चाहिएको कथा फिल्ममा छ’ उनले भने । दयाले फिल्म गर्नुको कारणनै यसको सब्जेक्ट रहेछ ।
‘यसको कथाले नै मलाइ लोभ्यायो’ उनले भने ,’फिल्मको कथा सुनेपछि मैले गर्नु पर्छ भनेर गरेको हुँ ।’ थियटर हुँदै फिल्ममा पुगेका दयाले फिल्मलाई मेकरको सोच भन्ने माध्यमको रुपमा लिने गरेका छन् । यसमा भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा देखाइएको छ । फिल्मलाई रङ्ग पत्रकार फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्म वलको निर्देशकीय डेब्यु भएकाले पनि प्रतिक्षित छ । यसमा दयाहाङसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।
फिल्ममा अभिनेत्री रेखा विशेष भुमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ ।
फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।










